इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति काग्लियारीलाई ४-० को फराकिलो अन्तरमा हराउँदै इन्टर लिगको शीर्ष स्थानमा उक्लिएको हो।
एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो।
इन्टरको जितमा लाउटारो मार्टिनेजले दुई तथा सान्चेज र हकानले १-१ गोल गरे।
खेलको २९ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरूआती अग्रता दिलाए। खेलको ४४ औं मिनेटमा मार्टिनेज पेनाल्टीको सदुपयोग गर्न चुक्दा इन्टरले पहिलो हाफमै अग्रता दोब्बर पार्ने अवसर गुमायो ।
५० औं मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर पारे। ६६औं मिनेटमा हकान चालहानोग्लुले गोल गर्दै इन्टरलाई ३-० गोल अन्तरमा अगाडि बढाए। त्यसको दुई मिनेटपछि मार्टिनेजले इन्टरका लागि चौथो गोल गर्दै सहज जित दिलाए।
जितसँगै इन्टरको १७ खेलमा ४० अंक भएको छ । दोस्रो स्थानको एसी मिलानको ३९ अंक छ।