बार्सिलोनालाई हराउँदै बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ। मंगलबार राति भएको खेलमा ट्राइब्रेकरमा बार्सिलोनालाई ४–२ ले पन्छाउँदै बोका जुनियर्सले उपाधि जितेको हो ।
साउदी अरेवियामा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो। जसमा बोका जुनियर्सले बाजी मार्यो।
पेनाल्टीमा बोका जुनियर्सका मार्कोस रोजो, कार्लोस रोबर्टो इजक्वाएरडोज, क्रिस्टियन पाभोन र आरोना मोलिनासले गोल गरे। बार्सिलोनाका म्याथिअस पेरेइरा र गुइलेम जेइमीले गोल गर्न नसक्दा हार व्यहोर्नु पर्यो।
त्यसअघि रियादस्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ५२औं मिनेटमा फेरान जुट्ग्लाको गोलबाट बार्सिलोनाले सुरूवाती अग्रता लिएको थियो। बार्सिलोनाले अन्तिम १३ मिनेट अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुग्यो। खेलको ७७ औं मिनेटमा एक्सक्वेल जेवाललोसल गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल ट्राइबेकरमा लम्बिएको थियो।
यो सिजन खराव लयबाट गुज्रिरहेको बार्सिलोनाले जाभीको प्रशिक्षणमा ७ खेल खेल्दा यो तेस्रो हार हो। यसअघि बार्सिलोनाले ला लिगामा रियल बेटिससँग १–० ले तथा च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ३–० को हार बेहोरेको थियो।
अर्जेन्टिनाका डिएगो अर्मान्डो म्याराडोनाको गत वर्ष निधन भएपछि उनकै सम्झनामा यो खेलको आयोजना भएको हो ।