स्पेनिस ला लिगामा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान नोउक्याम्पमा शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–२ ले हराएको हो।
पछिल्लो पाँच खेलमा पहिलो जित निकाल्ने क्रममा बार्सिलोनाका लागि फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे। इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरे।
खेलको १६ औं मिनेटमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि पाब्लो गाभिराले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा पुनरागमन गर्यो। ६२ औं मिनेटमा टेटे मोरेन्टेको गोलबाट खेलमा फर्किएको इल्चेका लागि त्यसको १ मिनेटपछि नै पेरे मिल्लाले बराबरी गोल फर्काएका थिए ।
खेलको अन्त्यतिर ८६ औं मिनेटमा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए।
यो जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित इल्चे १५ अंक जोडेर १६ औं स्थानमा रहेको छ।
लिगमा ४२ अंकसहित रियल म्याड्रिड शीर्ष स्थानमा छ। यस्तै ३७ अंक जोडेको सेभिल्ला दोस्रो र ३३ अंक जोडेको रियल बेटिस तेस्रो स्थानमा छन्।