लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लिड्समाथि सानदार जित निकालेको छ । घरेलु टोली लिड्सलाई ४–१ को फराकिलो अन्तरमा हराउँदै आर्सनल शीर्ष चारमा कायमै रहेको हो।
आर्सनललाई जिताउन मार्टिनेलीले २ गोल गर्दा साका र इमिल स्मिथ रोवीले १-१ गोल गरे। लिड्सका राफिन्हाले एक गोल फर्काए।
एलान रोड वेस्ट योर्कसायरमा शनिबार राति भएको खेलको १६ औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले सुरूआती अग्रता लिएको थियो ।
२८औं मिनेटमा मार्टिनेलीले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीले अग्रता दोब्बर बनायो।
खेलको ४२ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमै ३–० ले अघि बढाए।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको लिड्सका लागि ७५औं मिनेटमा राफिन्हाले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।
८४औं मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनलको जित पक्का गरे।
यो जितसँगै आर्सनलले शीर्ष चारमा बलियो पकड बनाएको छ। आर्सनलको १८ खेलबाट ३२ अंक छ। एक खेल कम खेलेको चेल्सी ३६ अंकसहित तेस्रो स्थानमा रहँदा २८ अंक जोडेको वेस्टह्याम पाँचौ स्थानमा छ। पराजित लिड्स १६ अंक जोडेर १६ औं स्थानमा छ।