इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ।
टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा टोटेनहम र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
घरेलु टोलीका लागि ह्यारी केन र ह्युङ मिन सनले गोल गर्दा लिभरपुलका डिएगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरे।
खेलको १३औं मिनेटमा ह्यारी केनको गोलबाट घरेलु टोली टोटेनहमले सुरुवाती अग्रता लिएको थियो। ३५औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
६९ औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा अग्रता दिलाए। त्यसको ५ मिनेटपछि ह्युङ मिन सनले गोल गर्दै खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए।
७७ औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। रोबर्टसन रातो कार्ड पाएर मैदान बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको लिभरपुलको १८ खेलबाट ४१ अंक पुगेको छ। लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ३ अंकले पछि परेको छ। समान खेलबाट सिटीको ४१ अंक छ। टोटेनहम १५ खेलबाट २६ अंक जोडेर सातौ स्थानमा रहेको छ।