इंग्लिस प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि सहज जित निकालेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा सिटीले लेस्टरमाथि ६-३ को सानदार जित निकालेको हो ।
सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुयन, रियाद महारेज, इल्केए गुन्डोगान र एमेरिक लापोर्टेले समान एक गोल गरेका थिए।
लेस्टरका जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले समान एक गोल गरे पनि हार टार्न सकेनन्।
सिटीले खेलको सुरूवाती २५ मिनेट भित्रै ४–० को अग्रता लिएको थियो।
खेलको पाँचौ मिनेटमा फर्नान्डिन्होको पासमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए। खेलको १४औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।
२१औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए। २५औं मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमा गोल गर्दै सिटीलाई २५ मिनेट भित्रै ४–० को अग्रता दिलाए।
पहिलो हाफमै ४–० ले पछि परेको लेस्टरले दोस्रो हाफमा १० मिनेटमा अन्तरमा तीन गोल गर्दै खेलमा फर्कने संकेत दियो।
खेलको ५५औं मिनेटमा म्याडिसनले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए। ५९औं मिनेटमा एडेमोलाले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याउँदा ६५औं मिनेटमा केलिचीले गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए।
तर ६९ औं मिनेटमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ५–३ ले अघि बढाए। खेल सकिन ३ मिनेट बाँकी हुँदा स्टर्लिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौं गोल गर्दै सिटीको जित पक्का गरे ।
यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको १९ खेलबाट ४७ अंक पुगेको छ। सिटीले दोस्रो स्थानको लिभरपुललाई ६ अंकले पछि पारेको छ। एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ। पराजित लेस्टर २२ अंक जोडेर १०औं स्थानमा छ।