चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली एस्टन भिल्लामाथि पूनरागमन जित निकालेको छ। आत्मघाती गोलबाट पछि परेको खेलमा चेल्सीले भिल्लामाथि ३–१ ले उत्कृष्ट जित निकालेको हो।
चेल्सीको जितमा जर्गिन्होको दुई तथा रोमेलु लुकाकुले एक गोल गरे। भिल्लाले एक गोल उपहार पाएको थियो ।
बर्मिङघमस्थित भिल्ला पार्कमा गए राति खेलको २८औं मिनेटमा रिस जेम्सको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो।
तर खेलको ३४औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा चेल्सीले थप २ गोल गर्यो।
५६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीको अग्रता बढाए। त्यसपछि खेलको इन्ज्युरी समयमा जर्गिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।
जितसँगै चेल्सी तेस्रो स्थानमा यथावत रहँदा दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ। चेल्सीको १९ खेलबाट ४१ अंक जोडेको छ।
एक खेल कम खेलेको लिभरपुलको पनि समान ४१ अंक भए पनि गोल अन्तरमा अघि छ। पराजित भिल्ला २२ अंक जोडेर ११औं स्थानमा छ। लिगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीको ४७ अंक छ।