इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई लेस्टर सिटीले हराएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि १–० गोल अन्तरको जित निकालेको हो।
यो सँगै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दूरी घटाउने मौकासमेत गुमाएक छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेस्टर सिटीका लागि एडेमोला लूकमेनले निर्णायक गोल गरे।
उनले ५९ औं मिनेटमा गरेको गोल नै लिभरपुललाई हराउन पर्याप्त रह्यो।
खेलको १५ औं मिनेटमा लिभरपुलले पाएको पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गर्न सकेका थिएनन्।
त्यस्तै लिभरपुलले पाएका केही राम्रा अवसर खेर फाल्दा हार व्यहोर्न बाध्य भयो। यद्यपी लिभरपुल लिगमा दोस्रो स्थानमा कायमै छ।
१९ खेलबाट ४१ अंक भएको लिभरपुल गोल अन्तरमा चेल्सीलाई पछि पार्दै दोस्रो स्थानमा यथावत छ। लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले समान खेलबाट ४७ अंक हात पारेको छ। तेस्रो स्थानमा रहेको चेल्सीको ४१ अंक छ।