इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा टोटेनहम साउथह्याम्पटनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको २५ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई सुरूआती अग्रता दिलाएका थिए।
तर खेलको ३९ औं मिनेटमा मोहमद सालिसुले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो।
त्यसको फाइदा उठाउँदै ४१ औं मिनेटमा ह्यारी केनले खेललाई बराबरीमा ल्याए। उनले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।
पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा १० खेलाडीमा रहेको साउथह्याम्पटनले टोटनहममाथि दबाब बढाइराख्यो।
खेलको ५३ औं मिनेटमा केनले गरेको गोल भीएआरमा अफसाइड देखिएको थियो।
त्यसपछि केही राम्रा अवसर गुमाएको टोटनहम बराबरीमा रोकियो। यो बराबरीसँगै पाँचौ स्थानमा उक्लने मौका गुमाएको टोटेनहमले १७ खेलमा ३० अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ।
साउथह्याम्पटन २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
तालिकामा ४७ अंक जोडेको म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ। यस्तै समान ४१ अंक जोडेका लिभरपुल र चेल्सी दोस्रो र तेस्रो तथा ३५ अंक जोडेको आर्सनल चौथो र ३१ अंक जोडेको वेष्टह्याम पाँचौ स्थानमा छन्।