केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा सानदार जित निकालेको छ ।
सोमबार राति भएको अन्तिम ३२ को खेलमा पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को फराकिलो जित निकाल्यो।
खेलको २८ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। उनले नुनो मेन्डेसको कर्नरमा उत्कृष्ट हेड गोल गरेका थिए ।
पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गर्यो।
उसका लागि एम्बाप्पे एक्लैले तीनै गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।
खेलको ५९ औं मिनेटमा किम्पेम्बेको सहयोगमा गोल गर्दै एम्बाप्पेले टिमको अग्रता दोब्बर पारे। त्यसपछि ७१ औं मिनेटमा जाभी सिमोन्सको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे।
त्यसपछि खेलको ७६ औं मिनेटमा जुनियर दिना एबिम्बेको पासमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गरेका थिए ।
यो सँगै एम्बाप्पेले पीएसजीका लागि १ सय ९६ खेलमा १ सय ५० गोल पुरा गरेका छन्।
यो जितसँगै पछिल्ला ७ फ्रेन्च कपको उपाधि जितेको पिएसजी अन्तिम ३२ मा प्रवेश गरेको छ।
खेलअघि लियोनल मेसीसहित चार खेलाडीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि पिएसजी उनीहरूबिनै मैदानमा उत्रिएको थियो।