स्पेनिस ला लिगाको दोस्रो स्थानको सेभिल्लाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ। सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हराउँदै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ।
प्रतिस्पर्धात्मक खेलमा सेभिल्लालाई जिताउन लुकास ओकम्पोसले निर्णायक गोल गरे। लुकासले ५८औं मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए। ७५ प्रतिशत बल पोसेसन राखेको सेभिल्लालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो ।
बलियो सेभिल्लालाई रोक्ने काडिजको रणनीति पहिलो हाफमा सफल भए पनि दास्रो हाफमा बिफल बन्यो। घरेलु मैदानमा नौ वटा पोस्ट प्रहार गरेको काडिज अन्तमा हार खेप्न बाध्य बन्यो।
निर्णायक गोल गरेका सेभियाका लुकास ओकम्पोस ‘म्यान अफ दी म्याच’ भए। जितसँगै सेभिल्ला १९ खेलबाट ४१ अंक बनाएको छ। शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अंक छ। तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । पराजित काडिज १४ अंकसहित १९औं स्थानमा छ ।
सोमबार रातिनै भएको खेलमा भिल्लारियलले लिभान्तेलाई ५–० गोलले हरायो। घरेलु मैदानमा भएको एकपक्षीय खेलमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले दुई गोल गरे।
बोउलाए डिया, पाउ टोरेस र मनु त्रिगेरोसले एक एक गोल गरेका थिए । जितसँगै २८ अंक बनाएको भिल्लारियल आठौं स्थानमा छ। आठ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ।
अर्को खेलमा एथलेटिक बिल्बाओले १० खेलाडीमा समेटिएको ओसासुनालाई उसैको मैदानमा ३–१ गोलले हराएको छ। बिल्बाओको जितमा ओइहान सानसेटले ह्याट्रिक गरे । ओसासुनाका किके गार्सियाको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो । जितसँगै २७ अंक बनाएको बिल्बाओ १०औँ स्थानमा छ । पराजित ओसासुना २२ अंक सहित १४औं स्थानमा छ ।