कार्वाओकप (लिग कप) फुटबलको सेमिफाइनलको पहिलो लेगमा चेल्सीले टोटेनह्यामलाई २-० ले हराउँदै फाइनल यात्रा बलियो बनाएको छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले पहिलो हाफमा गरेको दुई गोलनै टोटेनह्यामलाई हराउन पर्याप्त रह्यो। जितसँगै चेल्सीको फाइनल यात्रा बलियो बनेको छ।
चेल्सीलाई जिताउन केइ हाभाटेर्जले गोल गरे। अर्को गोल आत्मघातीस्वरूप उपहार पाएको थियो।
खेलको पाँचौ मिनेटमा केइ हाभाटेर्जले गोल गर्दै चेल्सीलाई सुरूआती अग्रता दिलाए। ३४ औं मिनेटमा चेल्सीले आत्माघाती गोलका रुपमा उपहार पायो। जफेट टनगाको हेड बल बेन डेभिसको पाखुरामा लाग्दै आफ्नै पोस्टमा छिरेपछि टोटेनह्याम पहिलो हाफमै २-० ले पछि पर्यो।
रोमेलु लुकाकू टिममा खेलमा फर्किएको खेलमा चेल्सीले ६४ प्रतिशत बल पोसेसन राखेको थियो। तुलनात्मक रुपमा कमजोर देखिएको टोटेनह्यामले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन।
दुबै टोलीले दोस्रो हाफमा गोलका केही मौका सिर्जना गरे पनि गोल गर्न भने सकेनन्। दोस्रो लेग आगामी जनवरी १३ मा हुनेछ।
यस खेलमा यही नतिजा कायम राख्न सके चेल्सी फाइनलमा पुग्नेछ । टोटेनहमलाई कम्तीमा पनि ३–० को जित आवश्यक छ । २–० को जितले खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकरमा लम्बिन सक्नेछ । कारवाओ कपको फाइनल २७ फेब्रुअरीमा हुनेछ ।