चेल्सीलाई हराउँदै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता लिन सफल भएको छ।
घरेलु मैदान इतिहाद स्टेडियममा गए राती भएको खेलमा दोस्रो स्थानको चेल्सीलाई १-० गोल अन्तरमा हराउँदै सिटीले शीर्षस्थानको अग्रता फराकिलो बनायो।
सिटीको जितमा केभिन डि ब्रुयनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। मिडफिल्डर ब्रुयनले खेलको ७०औं मिनेटमा जोओ क्यान्सेलोको पासमा गोल गरेका थिए। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेर फालेका थिए।
उपाधिको दाबेदार चेल्सीले यो हारसँगै शीर्षस्थानको सिटीसँगको अंक तालिकामा दूरी छोट्याउने अवसर गुमायो।
जितसँगै सिटी भने उपाधितर्फ लम्किएको छ ।
यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २२ खेलबाट ५६ अंक पुगेको छ । पराजित चेल्सीको समान खेलबाटै ४३ अंक छ। तेस्रो स्थानको लिभरपुल २ खेल कम खेल्दै ४२ अंक जोडेको छ।