दुई गोलको सुरूआती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु टोली एस्टन भिल्लासँग गए राती २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
भिल्ला पार्कमा भएको खेलमा युनाइटेडका लागि दुवै गोल ब्रुनो फर्नान्डेसले गरेका थिए भने भिल्लाका लागि ज्याकोप राम्से र फिलिपे कौटिन्होले गोल फर्काएका थिए।
खेलको छैठौं मिनेटमा गोल गर्दै ब्रुनोले युनाइटेडले खेलमा सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफसम्म १-० ले अघि रहेको युनाइटेडका लागि ६७ औं मिनेटमा ब्रुनोले गोल गर्दै अग्रता दोब्बर पारे।
तर, युनाइटेडले त्यो अग्रतालाई धेरै बेर जोगाउन सकेन । त्यसको १० मिनेटपछि ज्याकोव राम्सेले गोल गर्दै घरेलु टोली भिल्लालाई खेलमा फर्कने संकेत दिए।
त्यसपछि मैदान छिरको चौथो मिनेटमै फिलिप कौटिन्होले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। यसै सिजनमा बार्सिलोनाबाट लोनमा प्रिमियर लिग फर्किएका उनले खेलको ८२औं मिनेटमा गोल गरेका थिए। उनले प्रिमियर लिग फर्किएको पहिलो खेलमै गोल गर्न सफल भएका हुन्।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीसँगै युनाइटेड २० खेलबाट ३२ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ । भिल्ला २३ अंक जोडेर १३औं स्थानमा रहेको छ।