इंग्लिस प्रिमियर लिगमा चेल्सी फेरि बराबरीमा रोकिएको छ। उपाधि दौडमा रहेको चेल्सीले गएराति ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा दोस्रो स्थानमा उक्लने मौकासमेत गुमायो।
चेल्सीका लागि खेलको २८ औं मिनेटमा जियचले गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफका १-० ले अगाडि रहे पनि चेल्सीले दोस्रो हाफमा सोही अग्रता कायम गर्न सकेन।
खेलको ६० औं मिनेटमा ब्राइटनका वेब्स्टरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।
त्यसपछि दुबै टोलीले गोलका केही राम्रा अवसर खेर फाल्दा बराबरीमा रोकिन बाध्य भए।
यो बराबरीसँगै चेल्सी ४४ अंकसहित तेस्रो स्थानमा कायमै छ। उसले २३ खेल खेलेको छ। नवौं स्थानको ब्राइटनको २९ अंक छ। दुई खेल कम खेलेको लिभरपुल ४५ अंकसहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ५६ अंकसहित शीर्ष स्थानमा छ।