ब्राजिलका फुटबलर रोबिन्होले सन् २०१३ मा मिलानमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका अन्तिम पुनरावेदन पनि हारेका छन्।
बुधबार रोमको सर्वोच्च अदालतले ३७ वर्षीय खेलाडीलाई यसअघि सुनाइएको ९ वर्ष जेल सजायको फैसलालाई नै सदर गर्दै दोषी ठहर गरेको हो।
सन् २०१७ मा अदालतले रोबिन्होसहित अरू पाँच ब्राजिलियनलाई एक नाइट क्लबमा २२ वर्षीया अल्वानीयाली युवतीमाथि सामुहिक बलात्कार गरेकोमा दोषी ठहर गरिएको थियो।
त्यसविरुद्ध गरेको पुनरावेदन अपिलमा सन् २०२० मा रोबिन्हो पराजित भएका थिए । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् । तर सर्वोच्च अदालतले पनि सजायको आदेश सही ठहर गरेको हो ।
हाल रोबिन्हो ब्राजिलमा रहेका कारण उनले जेल सजाय भुक्तान गर्नुपर्ने छैन।
ब्राजिलको कानुनले आफ्ना नागरिकलाई सुपुर्दगी गर्न रोकेको छ। यद्यपि, इटालीले ब्राजिललाई उनलाई त्यहीँ नै जेल सजाय भुक्तान गर्नका लागि आग्रह भने गर्नसक्नेछ ।
ब्राजिलका लागि १०० खेल खेलेका रोबिन्होले रियल मड्रिडबाट दुईपटक ला लिगा उपाधि जितेका छन् । उनले सान्तोस, म्यानचेस्टर युनाइटेड, एसी मिलानसहितबाट खेलेका छन् ।
ब्राजिलको सान्तोष क्लबबाट करियरको सुरुवात गरेका रोबिन्हो सन् २००५ मा रियल म्याड्रिड पुगेका थिए। त्यहाँ चार सिजन बिताएका उनले २ वटा लिग उपाधि जितेका थिए।
उनी सन् २००८ मा म्यानचेस्टर सिटीमा अनुबन्धित हुँदा इङ्ल्यान्ड फुटबलको कीर्तिमानी ३ करोड २५ लाख पाउन्डमा आबद्ध भएका थिए। सन् २०१० मा उनी पुनः सान्तोष फर्किएका थिए। त्यसपछि उनी एसी मिलान पुगेका थिए। त्यहाँ पनि उनले लिग उपाधि जिते।
त्यसपछि उनी सन् २०१५ मा चिनियाँ टोली ग्वानझाओ एभर ग्रान्डेसँग आबद्ध भएका थिए।