आर्सनललाई हराउँदै लिभरपुल लिगकप फुटबलको फाइनलमा पुगेको छ।
बिहीवार राति भएको दोस्रो लेगमा आर्सनललाई २-० गोल अन्तरमा हराउँदै लिभरपुल ६ वर्षपछि उपाधि नजिक पुगेको हो। लिभरपुलको जितमा डियोगो जोटाले दुबै गोल गरे।
मोहमद सलाह र साडियो माने बिनै मैदान उत्रिएको लिभरपुलले अब उपाधिका लागि चेल्सीको सामना गर्नेछ।
खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए। पहिलो हाफसम्म १-० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै फाइनल यात्रा निश्चित गरेको हो।
जोटालेनै दोस्रो हाफको ७७ मिनेटमा गोल गर्दै टीमको अग्रता दोब्बर बनाएका थिए।
यो सँगै सन् २०१६ को फाइनलमा म्यान्चेष्टर सिटीसँग पराजित भएपछि लिभरपुल पहिलो पटक लिगकपको फाइनलमा पुगेको हो।
एनफिल्डमा आर्सनलले पहिलो लेगमा गोलरहित बराबरी खेल्दै फाइनलको सम्भावना कायम राखेको थियो। तर दोस्रो लेगमा सोही लय समात्न नसक्दा फाइनल सम्भावना टरेको हो।
प्रतियोगिताको फाइनल आगामी २७ फेब्रुअरीमा वेम्बलीमा हुनेछ। उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने छन्।