इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी हारबाट जोगिएको छ।
शनिबार राति १ गोलले पछि परेको अवस्थामा सिटीले गोल फर्काउँदै साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
साउथह्याम्पटनको मैदानमा सिटीका लागि एम्रिक लापोर्टेले गोल गरेपछि सिटी हारबाट जोगिएको हो ।
खेलको सातौं मिनेटमा केली वाल्कर पिटर्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफसम्म १-० ले पछि रहेको सिटीका लागि खेलको ६५ औं मिनेटमा लापोर्टेले गोल गर्दै हारबाट जोगाएका हुन्।
यो बराबरीसँगै सिटीको जितको यात्रामा पूर्ण विराम लागेको छ। यसअघि सिटीले लगातार १२ खेलमा जित निकालेको थियो। २३ खेलमा २ खेल हारेको सिटीले ३ बराबरी गरेसँगै ५७ अंक जोडेको छ।
सिटी दोस्रो स्थानको लिभरपुलभन्दा अझै १२ अंकले अघि छ। यता १० बराबरी गरेको साउथह्याम्पटन २५ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ ।