स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको रियल मड्रिड हारबाट जोगिएको छ।
घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर रियलले आइतबार राति इल्चेसँग २-२ गोलको बराबरी खेल्दै हार टारेको हो।
खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न नसक्दा रियल सुरूआती अग्रता बनाउन चुकेको थियो। तर, खेलको
४२ औं मिनेटमा लुकास बोएले गोल गर्दै इल्चेलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।
खेलको ७६ औं मिनेटमा पेरे मिल्लाले गोल गर्दै इल्चेलाई २-० को अग्रता दिलाए।
तर खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए।
त्यसपछि खेलको इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई हारबाट जोगाएका थिए।
यो बराबरीसँगै शीर्ष स्थानमा कायमै रहेको रियलले २२ खेलबाट ५० अंक जोडेको छ। उसले दोस्रो स्थानको सेभिल्लासँग ४ अंकको अग्रता बनाएको छ। तेस्रो स्थानमा रहेको रियल बेटिसले ४० अंक जोडेको छ।
यता रियलसँग बराबरीमा रोकिएको इल्चे २३ अंक जोडेर १५ औं स्थानमा छ।