इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष चारमा पुग्नबाट रोकिएको छ।
आइतबार राति आर्सनलले घरेलु मैदानमा रेलिगेसन क्षेत्रको बर्नलीसँग गोलरहित बराबरी खेल्दै शीर्ष चारमा पुग्ने मौका गुमाएको हो।
खेलमा ७६ प्रतिशत बल पोजिशन राखे पनि गोल गर्न नसक्दा आर्सनल बराबरीमा रोकिन बाध्य भयो। यो बराबरीसँगै आर्सनलले २१ खेलबाट ३६ अंक जोड्दै छैठौं स्थानमा छ ।
यता १२ अंक जोडेको बर्नली पुछारमा छ।
लिगमा ५७ अंक जोडेको म्यान्चेष्टर सिटी शीर्ष स्थानमा रहँदा ४८ अंक जोडेको लिभरपुल दोस्रो र ४७ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छन्। चौथो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको आर्सनलभन्दा २ अंक बढी छ।
प्रिमियर लिग अन्तर्गत नै गएराती भएको खेलमा लेस्टर सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
ब्राइटन ३० अंक जोडेर नवौं स्थानमा छ। लेस्टर २० खेलमा २६ अंक जोडेर दशौं स्थानमा छ।