नेपालविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न आएका अफ्रिकी मुलुक मरिससका चार जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
सोमबार गरिएको पिसिआर परीक्षणमा लोइक मिचेल, वल्टर मर्टिन्स, हान्स पाटाटे र कर्लसन अगाथेलाई कोरोना संक्रमण भेटिएको मरिसस फुटबल एसोसिएसनले जनाएको छ।
चारै खेलाडीको बिहीबार दोस्रो परीक्षण गरिनेछ। बाँकी सबै खेलाडीको शुक्रबार फेरि पिसिआर परीक्षण गरिनेछ।
पिसिआरमा पोजेटिभ देखिएका खेलाडी आइसोलेसनमा बसेका छन्।
मरिससको टिमले मंगलबार पहिलो अभ्यास भद्रकालीस्थित आर्मी मैदानमा गरेको छ।
नेपाल र मरिससबीच दशरथ रंगशालामा आगामी शनिबार र मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।
यो खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी शनिबार र मंगलबार हुने दुवै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै दर्शकलाई पनि प्रवेश दिने जानकारी दिएको हो।
एन्फाका अनुसार रंगशालामा एक तिहाई दर्शकलाई मात्र प्रवेश दिइनेछ। दशरथ रंगशालाको क्षमता १५ हजारको हाराहारीमा भएकाले ५ हजार दर्शकलाई प्रवेश दिइने भएको हो।
सरकारले दर्शकलाई प्रवेश दिनका लागि अनुमति दिएको एन्फाको भनाइ छ। तर दर्शकले स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ। यसअघि सरकारले रंगशालामा खेल हेर्न जाने दर्शकले खोप कार्ड देखाउनु पर्ने नियम लागू गरेको थियो।
खेलका लागि भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।
दुवै खेल दशरथ रंगशालामा अपरान्ह ४:४५ बजे सुरू हुनेछ।
हाल फिफा वरीयाताको १६९ औं स्थानमा रहेको नेपालका लागि मरिसस नयाँ प्रतिद्वन्द्वी हो।
फिफा वरीयताको १७२ औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो। जसका कारण खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।