मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मछिन्द्रलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
एपिएफका लागि सन्तोष श्रेष्ठले २५, प्रदीप लामाले ६८ र नवीन लामाले दोस्रो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा गोल गरेका थिए।
मछिन्द्रका नुरेन करिमले ४० मिनेटमा बराबरी गोल फर्काए पनि त्यो सान्त्वनामा सीमित बन्न पुग्यो।
अब उपाधिका लागि एपिएफले त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
आर्मी र मनाङबीच भोलि बिहीबार भिडन्त हुनेछ।