मनाङ मर्स्याङदी क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो।
निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमा पुगेको खेलमा मनाङ ४-३ ले विजयी भयो।
पेनाल्टीमा मनाङका लागि शिव गुरुङ, फ्रान्कलिन टाला, रुपेश केसी र ओलावाले अफिजले गोल गरेका थिए। मनाङका विश्व अधिकारीको प्रहार भने पोलमा लागेको थियो।
आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेत गोल गर्दा दीपक गुरुङको प्रहार पोलमा लाग्यो भने युद्ध शाहीको प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले विफल पारिदिए।
त्यसअघि मनाङले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिने अवसर गुमाएको थियो। मनाङका विमल रानाले १०औं मिनेटमा हानेको पेनाल्टी आकासिएको थियो।
मनाङ १२औं पटक प्रतियोगिताको फाइनलमा पुगेको हो। अब उपाधिका लागि मनाङले एपिएफसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।