कतारमा यसै वर्ष आयोजना हुने विश्वकप फुटबलमा छनोट भइसकेको ब्राजिलले दक्षिण अमेरिकी महादेशको छनोटमा शुक्रबार बिहान इक्वेडरसँग बराबरी खेलेको छ।
सुरूआती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिन बाध्य भयो।
खेलको छैठौं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई सुरूआती अग्रता दिलाएका थिए।
खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सीमित भयो ।
त्यसको पाँच मिनेटपछि इमेर्सन रोयल दोहोरो पहेँले कार्ड पाउँदै ब्राजिल पनि १० खेलाडीमा समेटियो।
त्यसपछि खेलमा फर्कन निकै संघर्ष गरेको इक्वेडरले ब्राजिलविरूद्ध दबाब कायमै राख्यो। पहिलो हाफमा १-० ले पछि परेको इक्वेडरले दोस्रो हाफको अन्त्यतिर बराबरी गोल फर्कायो।
खेलको ७५ औं मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा दुबै तर्फबाट गोल हुन नसक्दा १-१ को बराबरीमा सकियो।
यो बराबरीसँगै ब्राजिलले १४ खेलबाट ३६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ। यता ब्राजिलसँग बराबरी खेलेको इक्वेडरले छनोटको सम्भावना जिवितै राखेको छ। यो बराबरीसँगै इक्वेडरको १५ खेलबाट २४ अंक भएको छ।
यो समूहबाट शीर्ष ४ टोली विश्वकपमा सोझै छनोट हुनेछन्। यसअघिनै ब्राजिल र अर्जेन्टिना कतार विश्वकपमा पुगिसकेका छन्। अब बाँकी दुई टोली सोझै पुग्नेछन् भने पाँचौ टोलीले प्लेअफ खेल्नेछ।