यसै वर्षको नोभेम्बरमा हुने कतार विश्वकप फुटबलका लागि इरान एसियाबाट छनोट हुने पहिलो टोली बनेको छ।
इराकलाई गए राती १–० गोल अन्तरले हराउँदै इरान विश्वकपमा छनोट भएको हो। कतार विश्वकपका लागि छनोट हुने आयोजक पछि इरान एसियाको पहिलो देश हो ।
इरानलाई विश्वकपमा पुर्याउन मेहदी तारेमीले निर्णायक गोल गरे। उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै इरानलाई सुरूआती अग्रता दिलाएका थिए।
अत्यन्तै प्रतिश्पर्धात्मक खेलमा दुबै तर्फबाट गोलका केही प्रयासहरू भए पनि गोल हुन नसक्दा इरान १-० ले विजयी भयो।
इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको समान खेलबाट १७ अंक छ।
यो सँगै एसियाली छनोटको समूह ‘ए’ मा शीर्ष स्थानमा रहेको इरान विश्वकपमा सोझै छनोट भयो। इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो। यो सँगै एसियाली मुलुक इरान समग्रमा ६ पटक विश्वकपमा छनोट भएको हो।