कतार विश्वकप छनोट अन्तर्गत आज बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरूग्वेले पाराग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ।
पराग्वेको जेनरल पाब्लो रोजास स्टेडियममा सम्पन्न खेलमा उरूग्वेलाई जिताउन लुइस सुआरेजले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा सुआरेजले गोल गरेका थिए। उनले खेलको ५० औं मिनेटमा गोल गर्दै घरेलु टोलीमाथि दबाब बढाएका थिए।
अन्ततः यही अग्रता जोगाउँदै उरूग्वेले विश्वकप छनोटको सम्भावना जिवितै राखेको छ।
दक्षिण अमेरिकी छनोटबाट शीर्ष दुईमा रहेका ब्राजिल र अर्जेन्टिना यसअघिनै विश्वकपका लागि छनोट भइसकेका छन्।
ब्राजिलले १४ खेलबाट ३६ अंक जोडेको छ। ब्राजिललाई बराबरीमा रोकेको इक्वेडर १५ खेलबाट २४ अंक जोड्दै तालिकाको तालिकाको तेस्रो स्थानमा छ।
त्यस्तै १९ अंक जोडेको उरूग्वे चौथो स्थानमा छ। १३ अंक जोडेको पाराग्वे भने नवौं स्थानमा छ।
पाँचौं स्थानको कोलम्बिया र छैठौं स्थनको पेरूको समान १७ अंक छ। दुवैले एक खेल कम खेलेका छन् ।
१४ खेलबाटै चिलीको १६ र बोलिभियाको १५ अंक छ। १५ खेलबाट पाराग्वेको १३ अंक छ। ७ अंकमात्र भएको अन्तिम स्थानको भेनेजुएला भने उरुग्वेको यो जितपछि सिधा छनोट सम्भावनाबाट बाहिरिएको छ।
यो समूहबाट अब दुई वटा टिमले विश्वकपमा सोझै स्थान बनाउने छन् भने पाँचौं स्थानमा रहने टोलीले अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपको यात्रा तय गर्न पाउँछ।