विश्वकप एसिया छनोटअन्तर्गत घरेलु टोली साउदी अरबले ओमानलाई हराएको छ।
गएराति किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा ओमानमाथि साउदी अरबले १-० को कठिन जित हात पारेको हो।
साउदीको जितमा फिरास अल बुराइकनले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरूआतमै बराइकनले गोल गरेका थिए।
खेलको ४८ औं मिनेटमा बुराइकनले गरेको एक मात्र गोल साउदीलाई जित दिलाउन प्रयाप्त बन्यो।
यो जितसँगै ७ खेलमा १९ अंक जोडेको साउदी समूह ‘बी’ को शीर्ष स्थानमा कायमै छ। पराजित ओमान ७ अंकका साथ चौथो स्थानमा छ।
छनोटअन्तर्गतकै अन्य खेलमा समूह बी कै अस्ट्रेलियाले भियतनामलाई ४-० ले हराउँदा जापानले चीनमाथि २-० को जित निकालेको छ।
यस्तै समूह ए को खेलमा युएईले सिरियामाथि २-० को जित हात पार्दा दक्षिण कोरियाले लेबनान तथा इरानले इराकमाथि समान १-० गोल अन्तरको जित निकाल्यो।
इराकमाथिको जितसँगै इरान विश्वकपमा छनोट हुने १४ औं राष्ट्र बनेको छ।
समूह ए को शीर्ष स्थानमा रहेको इरान तीन ेल अगावै विश्वकपमा लगातार तेस्रो पटक र समग्रमा छैठौं पटक छनोट भएको हो।
एसियाली छनोटबाट चार टिमले विश्वकपमा सोझै सहभागी हुनेछन्। भने दुई टिमले प्ले अफ खेल्नुपर्नेछ।
समूह ए बाट दोस्रो स्थानमा दक्षिण कोरिया रहेको छ भने तेस्रो स्थानमा युएई छ।
यस्तै समूह बी बाट साउदी अरब शीर्ष स्थानमा रहँदा जापान दोस्रो तथा अष्ट्रेलिया तेस्रो स्थानमा छन्।