मरिससविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलमा नेपालले विमल घर्तीमगरको गोलमा अग्रता लिएको हो।
सुमन लामाले दिएको पासमा विमलले ५५ मिनेटमा गोल गरेका हुन्।
तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमलले मरिससका गोलकिपर अघि बढेको फाइदा उठाउँदै उत्कृष्ट फिनिसिङ गरेका थिए।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। दशरथ रंगशालामा जारी खेलमा दुवै टिमले पहिलो हाफमा गोल गर्न सकेनन्।
पहिलो हाफमा नेपालका लागि सुमन लामाले डिबक्स बाहिरबाट हानेको प्रहार बार नजिकबाट बाहिरिएको थियो।
यस्तै विमल घर्तिमगरले डिबक्समा पाएको अवसरमा गरेको क्रस सिधैं मरिससका गोलकिपरको हातमा पुगेको थियो।
३५ मिनेटमा मरिससले खेलमा अग्रता लिने अवसर गुमायो। एड्रियन फ्रान्कोइसले डिबक्सबाट हानेको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बूले विफल पारे।
४० मिनेटमा सुनील बलको क्रसमा देवेन्द्र तामाङले डिबक्सभित्रबाट गरेको हेड पनि थोरैले बाहिरिएको थियो।
५ मिनेटमा अन्जन विष्टले डिबक्सबाट दोस्रो पोल च्याप्दै प्रहार गरे पनि सफल हुन सकेनन्।
हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो।
सबै तस्बिर: नवीनबाबु गुरूङ/निशा भण्डारी