एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ। पुनरागमन जित निकालेको इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
इजिप्टको जितमा कप्तान मोहमद सलाह र ट्राजिग्वेटले १-१ गोल गरे। मोरोक्कोका सोफिएन बोउफलले गोल गरेका थिए।
याओन्डेमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमा सोफिएन बोउफलले गोल गर्दै मोरोक्कोलाई सुरूआती अग्रता दिलाएका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।
सम्हालिन नपाउँदै पेनाल्टीमा गोल खाएको इजिप्टले मोरोक्कोलाई दवावमा राखे पनि बराबरी गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो। खेलको ५३औं मिनेटमा कप्तान सलाहले गोल गर्दै इजिप्टलाई खेलमा फर्काए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो।
खेलको १००औं मिनेटमा ट्राजिग्वेटले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। उनले कप्तान मोहम्मद सलाहले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा इजिप्टले रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भयो।
यो सँगै अफ्रिकी नेसन्स कपको सेमिफाइनल समिकरण पुरा भएको छ। अब फाइनल प्रवेशका लागि इजिप्टले क्यामरूनसँग आगामी फेब्रुअरी २ मा खेल्नेछ।
क्यामरूनले शनिबार राति गाम्वियालाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो।
अर्को सेममिफाइनलमा सेनेगलले बुर्किना फासोसँग प्रतिश्पर्धा गर्नेछ। सेनेगल इक्वेटोरियल गिनियालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने बुर्किना फासोले ट्यूनिसियालाई हराउँदै सेमिफाइनल पुगेको हो।