मरिससविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ। दशरथ रंगशालामा जारी खेलको दशौं मिनेटमा नेपालले खेलमा अग्रता लियो। नेपालका लागि सुजल श्रेष्ठले गोल गरे।
आसिस लामाले डिबक्स बाहिरबाट हानेको प्रहार डिबक्समा रहेका पुजन उपरकोटीको खुट्टामा लागेर गएकोमा सिक्स यार्डमा राहेका सुजलले सहज गोल गरे।
लगत्तै मरिससले खेलमा पेनाल्टी पायो। डिबक्समा दिनेश राजवंशीले फउल गरेपछि प्राप्त पेनाल्टीमा मरिसस सफल भने भएन।
मरिससका कप्तान एन्डी सोफीको पेनाल्टीलाई नेपालका गोलकिपर किरणकुमार लिम्बूले विफल पारिदिए।
त्यसअघि खेलको पाँचौ मिनेटमा दर्शन गुरूङले डिबक्स बाहिरबाट हानेको प्रहार आकासियो। यस्तै उनले खेलको ३८ औं मिनेटमा डिबक्स भित्रबाट गरेको हेडिङले पनि गोलपोस्टको दिशा लिन सकेन।
पहिलो हाफको अन्त्यतिर मरिससले पाएका अवसर खेर फालेको थियो। नेपालका कप्तान किरण अघि बढेको अवस्थामा मरिससका खेलाडीको प्रहार आकासिएको थियो।
४३ औं मिनेटमा एड्रियन बोटलरको प्रहार सिधै किरणको हातमा पुगेको थियो।
यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको थियो। विमल घर्तिमगरको गोलमा नेपालले मरिससलाई १-० गोलले हराएको थियो।