मरिससविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।
मंगलबार दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा नेपाल १-० गोलले विजयी भयो। खेलमा नेपाल १० खेलाडी र मरिसस ९ खेलाडीमा सीमित भएका थिए।
यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपाल १-० ले नै विजयी भएको थियो।
खेलको दशौं मिनेटमा नेपालले खेलमा अग्रता लियो। नेपालका लागि सुजल श्रेष्ठले गोल गरे।
आसिस लामाले डिबक्स बाहिरबाट हानेको प्रहार डिबक्समा रहेका पुजन उपरकोटीको खुट्टामा लागेर गएकोमा सिक्स यार्डमा राखेका सुजलले सहज गोल गरे।
लगत्तै मरिससले खेलमा पेनाल्टी पायो। डिबक्समा दिनेश राजवंशीले फउल गरेपछि प्राप्त पेनाल्टीमा मरिसस सफल भने भएन।
मरिससका कप्तान एन्डी सोफीको पेनाल्टीलाई नेपालका गोलकिपर किरणकुमार लिम्बूले विफल पारिदिए।
खेलको पाँचौ मिनेटमा दर्शन गुरूङले डिबक्स बाहिरबाट हानेको प्रहार आकासियो। यस्तै उनले खेलको ३८ मिनेटमा डिबक्स भित्रबाट गरेको हेडिङले पनि गोलपोस्टको दिशा लिन सकेन।
पहिलो हाफको अन्त्यतिर मरिससले पाएका अवसर खेर फालेको थियो।
नेपालका कप्तान किरण अघि बढेको अवस्थामा मरिससका खेलाडीको प्रहार आकासिएको थियो। ४३ मिनेटमा एड्रियन बोटलरको प्रहार सिधै किरणको हातमा पुगेको थियो।
खेलको ६४ मिनेटमा सुजल श्रेष्ठको फिक्रिकमा मनिष डाँगीले सिक्स यार्डबाट बक्सबाट हेडर आकासिएको थियो।
६८ मिनेटमा नेपालका गोलकिपर किरणले अर्को प्रहार विफल पारे। मरिससका कप्तान एन्डीले डिबक्स नजिकबाट हानेको सशक्त प्रहारलाई किरणले पञ्च गरेर बल बाहिर पठाएका थिए।
७१ मिनेटमा दुवै टिम १०-१० खेलाडीमा सीमित भए। झगडामा उत्रिएका कारण नेपालका पुजन उपरकोटी दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए। यस्तै रेफ्रीले मरिससका एड्रियन बोटलरलाई पनि रातो कार्ड दिए।
७९ मिनेटमा मरिसस ९ खेलाडीमा सीमित भयो। मरिससका इम्यान्युएल फूलचुडले नेपालका गौतम श्रेष्ठलाई डरलाग्दो ट्याकल गरेपछि दोस्रो पहेँलो कार्ड पाएका थिए।
खेल सकिन पाँच मिनेट बाँकी छदा रंगशालमा विद्युत अवरूद्ध हुँदा खेल १० मिनेट रोकिएको थियो। एक्कासि विद्युत अवरूद्ध हुँदा रंगशालाको फ्लड लाइटले पूरा प्रकाश दिन नसक्दा खेल अवरूद्ध भएको थियो।
अवरूद्ध भएको खेल सुचारू भए लगत्तै नेपालले अग्रता दोब्बर पार्ने मौका खेर फालेको थियो। नेपालका अन्जन विष्टको प्रहारलाई मरिससका गोलकिपरले विफल पारिदिएका थिए।
सबै तस्बिर: निशा भण्डारी