नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच मंगलबार दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रह्यो।
विशेषगरी दोस्रो हाफमा दुवै टिमका खेलाडी एकअर्काविरूद्ध झगडामा उत्रिएका थिए।
जसका कारण फिफा रेफ्री नवीन्द्र महर्जनलाई खेल नियन्त्रणमा लिन १५ वटा कार्ड प्रयोग गर्न परेको थियो।
पहिलो हाफमा नेपालले १-० ले अग्रता लिएपछि दोस्रो हाफको सुरुदेखि नै मरिसस बराबरी गोल फर्काउन प्रयासरत थियो। पहिलो हाफमा नेपालका लागि सुजल श्रेष्ठले गोल गरेका थिए।
दोस्रो हाफमा सामान्य फलमा पनि मरिससका खेलाडी तथा अफिसियल रिसाएको प्रष्ट देखिन्थ्यो।
पछिल्लो ३० मिनेटको खेल तनावपूर्ण रहदा रेफ्रीले दर्जनभन्दा बढी कार्ड प्रयोग गर्नु परेको थियो।
खेलमा नेपाल र मरिसस दुवै टिमका २-२ जनाले रातो कार्ड पाएका थिए। यस्तै दुवै टिमलाई गरी कुल ११ पहेँलो कार्ड देखाइएको थियो। नेपालले ४ पहेँलो कार्ड पाउँदा मरिससले ७ पहेँलो कार्ड पाएको थियो।
८० मिनेटमा दुवै टिम १०-१० खेलाडीमा सीमित बनेका थिए। सामान्य विवादमा नेपालका तेज तामाङले विपक्षी खेलाडीलाई बलले टाउकोमा हानेपछि दुवै टिमका खेलाडीहरूले एकअर्कालाई धकेलाधकेल गरेका थिए। योबीचमा नेपालका गोलकिपर प्रशिक्षक विकास मल्ल मैदान प्रवेश गर्दै झगडामा सामेल भएका थिए।
त्यसपछि रेफ्रीले नेपालका पुजन उपरकोटीलाई दोस्रो पहेँलो कार्डसहित रातो कार्ड र मरिससका एड्रिइन बोटलरलाई सिधा रातो कार्ड देखाएका थिए।
यस्तै रेफ्रीले नेपालका गोलकिपर प्रशिक्षक विकासलाई पनि रातो कार्ड देखाएका थिए।
चार मिनेटपछि नेपालका गौतम श्रेष्ठमाथि डरलाग्दो ट्याकल गरेका मरिससका इम्यान्युएललाई रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
खेलपछि दुवै टिमका प्रशिक्षकले रेफ्रीको निर्णयलाई सामान्यरुपमा लिएको बताए। मरिससका प्रशिक्षक पास्कल टोनीले मैत्रीपूर्ण खेल भए पनि जित निकाल्ने उद्देश्य हरेक टिमको हुने बताए।
यस्तै नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि रेफ्रीको निर्णयलाई सबैले स्वीकार गर्नु पर्ने भनाइ राखे।
रातो कार्ड
मरिसस - एड्रियन बोटलर (७९ मा पहिलो पहेँलो कार्ड, ८० मिनेटमा रातो कार्ड), इम्यान्युएल फुलचुन्ड (६२ मिनेटमा पहिलो पहेँलो कार्ड, ८४ मिनेटमा दोस्रो पहेँलो कार्डसहित रातो कार्ड)
नेपाल- पुजन उपरकोटी (६४ मिनेटमा पहिलो पहेँलो कार्ड, ८० मिनेटमा दोस्रो पहेँलो कार्डसहित रातो कार्ड), विकाश मल्ल (नेपालका गोलकिपर प्रशिक्षकलाई मैदान भित्र पसेर झगडामा उत्रिएको भन्दै ८१ मिनेटमा रातो कार्ड)
पहेँलो कार्ड
मरिसस - फर्नान्डो ज्याक्सन (२४ मिनेट), जोनाथन स्पेभिली (३९ मिनेट), भासिस्ट कलकता (६१ मिनेट), एन्डी सोफी (६१ मिनेट), एड्रियन बोटलर (७९ मिनेट), इम्यान्युएल फुलचुन्ड (६२ र ८४ मिनेट)
नेपाल -पुजन उपरकोटी (६४ र ८० मिनेट), सुमन लामा (६१ मिनेट), सन्तोष तामाङ (९०+१२ मिनेट)