यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपको एसियाली छनोटको तेस्रो चरण अन्तर्गत समूह बीको खेलमा जापानले शीर्षस्थानको साउदी अरेबियालाई हराएको छ।
मंगलबार राति जापानले घरेलु मैदान साइतामा स्टेडियममा साउदी अरेबियामाथि २–० को जित निकाल्दै छनोट सम्भावना बलियो बनाएको छ।
घरेलु टोलीको जितमा ताकुमी मिनामिनो र जुन्या इटोले गोल गरे। जापानले पहिलो र दोस्रो हाफमा समान एक-एक गोल गरेको थियो।
खेलको ३२औं मिनेटमा ताकुमी मिनामिनोको गोलबाट जापानले सुरूआती अग्रता लिएको थियो।
पहिलो हाफमा १–० ले अघि रहेको जापानका लागि दोस्रो हाफमा थप १ गोल गर्दै जित सुनिश्चित गरेको थियो।
खेलको ५०औं मिनेटमा जुन्या इटोले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।
त्यसपछि थप गोल निस्कन नसक्दा जापान विजयी हुन सफल भयो।
घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाए पनि फिनिसिङमा चुक्दा छनोटमा साउदीले पहिलो हार बेहोर्यो।
यो हारसँगै साउदीले ८ खेलमा ६ जित र १ बराबरीसहित १९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायमै छ।
यो जितपछि जापान समूह ‘बी’ मा ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ
जापानसँगको हारसँगै साउदीलाई विश्वकपमा छनोट हुन अर्को खेल कुर्नुपर्ने भएको छ। साउदीमाथिको जितसँगै जापानले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ।
समूहमा तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले गए राती ओमानसँग २-२ गोलको बराबरी खेल्दै ८ खेलबाट १५ अंक जोडेको छ।