नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगरले लामो समयपछि मैदान फर्कन पाउँदा खुसी व्यक्त गरेका छन्।
तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विमलले मरिससविरूद्ध शनिबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोल गरेका थिए।
जससँगै उनले अन्तर्राष्ट्रिय गोल संख्या ९ पुर्याएका थिए। विमलले मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेल पनि खेलेका थिए।
पहिलो खेलमा विमलले प्लेयर अफ दि म्याचको पुरस्कार पनि जितेका थिए।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विमलले पुनरागमन गरेको खेलमा गोल गरेकोमा खुसी व्यक्त गरेका थिए। यद्यपी उनले विमलले अझ धेरै खेलमा सुधार गर्नु पर्ने बताएका थिए।
विमलले आगामी दिनमा अझ खुसी बाढ्न आफू तत्पर हुने पनि बताएका छन्।
लामो समयपछि मैदान फर्कन पाएकोमा खुसी व्यक्त गर्दै विमलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :-
सायद सूर्य अस्ताउने भनेकै भोलि उदाउनको लागि हो !
निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो शतप्रतिशत साथ रहिरह्यो।
उतारचढाव पश्चात् शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातिमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरू कुनै कुरासँग तुलना गर्न सक्दिन!
टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनमा पनि नेपालीमा खुसी बाड्न सदैव तत्पर हुनेछु।
मेरालागि सबै र सबैको लागि म।