अखिल नेपाल फुटबल संघ एन्फाले निर्वाचन नियमावली प्रस्तावित मस्यौदा पारित गरेको छ।
बिहीबार ललितपुरमा बसेको एन्फाको १६ औं कार्यसमिति बैठकले निर्वाचन नियमावली प्रस्तावित मस्यौदा फिफा र एएफसीको निर्देशनहरु पालना गर्ने गरि पारित गर्ने निर्णय गरेको हो।
बैठकले निर्वाचन समिति गठन गर्दै बिभिन्न व्यक्तिहरुलाई निर्वाचन समितिमा मनोनयन गर्न २० औ विशेष साधारण समितिमा पेश गर्ने निर्णय पनि गरेको छ । निर्वाचन समितिको संयोजकमा अधिवक्ता राम दवाडी रहेका छन्।
यसैगरी सह संयोजकमा अधिवक्ता रामचन्द्र गौतम र सदस्यमा दामोदर भट्टराई रहेका छन्। यसैगरी बैठकले निर्वाचन पुनरावेदन समिति गठन गर्दै संयोजकमा अधिवक्ता विष्णु लुईँटेल र सह संयोजकमा अधिवक्ता सुधा रिजाललाई मनोनयन गर्दै बिशेष साधारण समितिमा पेश गर्ने निर्णय गरेको छ ।
एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ १५ गते चुनाव हुँदै छ। एन्फाको निर्वाचनमा ९२ जनाको सदस्यता रहे पनि योग्यता नपुगेका कारण ५ जनाले चुनावमा मतदान गर्न पाउने छैनन्।
त्यसअघि एन्फा सदस्य किरण राईको संयोजकत्वमा रहको निर्वाचन निर्देशिका समितिले बुझाएको प्रतिवेदन पारित गरिएको थियो । उक्त प्रतिवेदन अहिले पारित भए पनि फिफा र एएफसीले दिने सुझावलाई पनि थप गरिने सहमति पनि भएको जनाइएको छ ।
यसैगरी एन्फा उपाध्यक्ष विरबहादुर खड्का नेतृत्वको छानविन समितिले पनि प्रतिवेदन अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाएको छ । प्रतिवदेन भने गोप्य राखिएको छ ।