फिलिपिन्सलाई हराउँदै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ।
बिहीबार मुम्बईमा भएको खेलमा फिलिपिन्समाथि २-० को जित निकाल्दै दक्षिण कोरिया पहिलो पटक एसिया कपको उपाधि नजिक पुगेको हो।
दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे।
खेलको चौथो मिनेटमा चो सो ह्युनले गोल गर्दै कोरियालाई सुरूआती अग्रता दिलाएकी थिइन्। यस्तै खेलको ३४ औं मिनेटमा सन ह्वा येओनले गोल गर्दै कोरियालाई पहिलो हाफ अगाडि नै २-० ले अगाडि बढाइन्।
तर त्यसपछि दुबै तर्फबाट गोल निस्कन नसक्दा कोरियाले फिलिपिन्सलाई रोक्दै फाइनलमा पुग्यो।
अब, उपाधिका लागि कोरियाले अब चीनसँग आगामी आइतबार खेल्नेछ।
आजै भएको दोस्रो सेमिफाइनलमा जापानलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै चीनले कोरियासँगको भिडन्त पक्का गरेको हो।
निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुबै टोलीले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
जापानले सुरूआती अग्रता जोगाउन नसक्दा हार व्यवहोर्न बाध्य भयो। खेलको रिको विइकेईले गोल गर्दै जापानलाई सुरूआती अग्रता दिलाएकी थिइन्। पहिलो हाफसम्म १-० ले पछि परेको चीनले ४६ औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो। उसका लागि चेङ्सु उ ले गोल गरिन्।
यसपछि दुबै टोलीले गोल गर्ने केही राम्रो मौका गुमाउँदै निर्धारित ९० मिनेटको खेल सकिँदा १-१ गोलको बराबरी भयो। त्यसपछि थपिएको अतिरिक्त समयको १०३ औं मिनेटमा पुनः रिकोले गोल गर्दै जापानलाई अग्रता दिलाइन्।
तर खेलको अन्त्यतिर ११९ औं मिनेटमा वाङ सानसानले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याइन्।