आयोजक क्यामरूनलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।
गएराती भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली क्यामरूनलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो।
इजिप्टको जितमा गोलकिपर गाबास्की नायक बने। उनले क्यामरूनका लगातार दुई पेनाल्टी प्रहार रोके भने क्यामरूनको चौथो प्रहार बाहिरियो।
निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा समेत दुबै पक्षबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा इजिप्टका अहमद सायद, मोहम्मद अब्देलमोनेम र मोहम्मद लासिनले गोल गरेका थिए। घरेलु टोलीका लागि भिनसेन्ट अबुबाकारले मात्र गोल गरे। त्यसपछि हारोल्ड मौकौडी, जामेस सिलिकी र किन्टोनले गोल गर्न सकेनन्।
अब अफ्रिका कपमा सर्वाधिक सफल इजिप्टले उपाधिका लागि सेनेगलको सामना गर्नेछ। ७ पटकको च्याम्पियन इजिप्ट १०औं पटक फाइनलमा पुगेको हो।
यसअघि सेनेगलले बुर्किना फासोलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।