नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नगदसहित सम्मान गरेका छन्।
चार महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई यसअघि सरकारले जनही ५ लाख रुपैयाँ प्रदान गरेको थियो।
त्यतिबेला अलमुताइरी नेपालमा नभएकाले सम्मानमा उपस्थित हुन पाएका थिएनन्। त्यहीँ सम्मान अलमुताइरीलाई शुक्रबार प्रदान गरिएको हो।
सरकारले खेलाडीहरूलाई जनही नगद ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो।
अक्टोबरमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। फाइनलमा भारतसँग पराजित हुँदा नेपालले च्याम्पियन बन्ने अवसर भने गुमाएको थियो।