स्पेनिस ला लिगाको २३ औं राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ। घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो।
एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे। गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। इनेसले मौरो अरमबारीको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए। २९औं मिनेटमा इनेसले माथियस ओलिभेराको पासमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाए ।
गेटाफेले अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा थपेको थियो। कार्लेसले बोर्जा मायोरलको पासमा गोल गर्दै गेटाफेलाई सानदार जित दिलाए। बल पोसेसनमा अब्बल रहे पनि पाहुना टोली लिभान्तेको गोल फर्काउने प्रयास सफल भएन।
५९ प्रतिशत बल पोसेसन राखेको लिभान्तेले खेलभर ११ वटा पोस्ट् प्रहार गरे पनि गेटाफेको रक्षापंक्ति चिर्न सकेन। गेटाफेका इनेस उनाल ‘म्यान अफ दि म्याच’ भए। जितसँगै गेटाफे १४औं स्थानमा उक्लिएको छ । २३ खेल सकेको गेटाफेको २५ अंक छ । पराजित लिभान्तेमाथि रेलिगेसनको दबाब थपिएको छ ।
अन्तिममा रहेको लिभान्तेको २२ खेलबाट ११ अंक पुगेको छ। लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २२ खेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४० अंक छ।