प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।
सिटीको जितमा रियाद महरेजले २ तथा इल्के गुन्डोगान र जोन स्टोन्सले १-१ गोल गरे। फुलह्यामका लागि फाबियो कार्भाल्होले गोल गरे।
म्यान्चेष्टर सिटीको घरेलु मैदानमा खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै फुलह्यमलाई सुरुआती अग्रता दिलाएका थिए। तर, छैटौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए।
१३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।
दोस्रो हाफमा थप २ गोल गरेको सिटीका लागि तेस्रो गोल ५३ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमार्फत गरे। सहज जित दिलाउने क्रममा ५७ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौंथो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए।
त्यस्तै शनिबारनै भएको खेलमा चेल्सी, वेस्टह्याम युनाईटेड, क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेका छन्।