एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै मिलान डर्वीमा एसी मिलानले पूनरागमन जित दर्ता गरेको छ ।
एसी मिलानले शीर्ष स्थानमा रहेको इन्टरमाथि २–१ को पूनरागमन जित निकालेको हो।
मिलानोमा शनिबार राति एसी मिलानलाई जिताउन ओलिभर जिरूउडले दुबै गोल गरे।
यसअघि इभान पेरिससको गोलबाट इन्टरले सुरूवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो।
खेलको ३८औं मिनेटमा पेरिससले गोल गर्दै इन्टरलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। तर, इन्टरले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन।
खेलको ७५औं मिनेटमा जिरूउडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछिनै जिराउडले कालाब्राइको पासलाई सदुपयोग गर्दै खेलमा २-१ को अग्रता दिलाए। उक्त अग्रतानै टीमका लागि निर्णायक बन्यो।
खेलको इन्जुरी समयको केही सेकेन्ड बाँकी हुँदा एसी मिलान १० खेलाडीमा सिमित भएको थियो।
डेन्जिल डमफ्रेजमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले थियो हर्नान्डेजलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएका थिए।
जितसँगै एसी मिलानको २४ खेलबाट ५२ अंक भएको छ। एक खेल कम खेलेको इन्टर मिलान ५३ अंकका साथ शीर्ष स्थानमा कायमै छ। नापोली ४९ अंकका साथ तेस्रो स्थानमा रहँदा एटलान्टा ४३ अंकका साथ चौंथो र युभेन्टस ४२ अंकका साथ पाँचौ स्थानमा रहेका छन्।