स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको सेभिया ओसासुनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा ओसासुनाले सेभियालाई गोलरहित बराबरीमा रोकेको हो।
प्रतिस्पर्धात्मक खेलमा सेभियाले ७४ प्रतिशत बल पोससन राखेपनि गोल गर्न भने सकेन। खेलभर नौ वटा पोस्ट् प्रहार गरेको सेभिया अन्ततः अंक बाँड्न बाध्य भयो । ओसासुनाले पनि नौ वटै पोस्ट् प्रहार गरेको थियो । सेभियालाई रोक्ने योजना बनाएको ओसासुना आफ्नो रणनितिमा सफल बन्यो ।
ओसासुनाका सर्जिओ हेरेरा ‘म्यान अफ दि म्याच’ भए । बराबरीसँगै सेभियाले शीर्षटोली रियल म्याड्रिडसँग अंक दुरी घटाउने अवसर गुमायो । दोस्रो स्थानमा यथावत सेभियाको २३ खेलबाट ४७ अंक पुगेको छ । रियलको २२ खेलबाट ५० अंक छ । सेभियालाई रोकेको ओससुना २९ अंक सहित १२औं स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० अंक छ ।
घरेलु मैदानमा भएको अर्को खेलमा सेल्टा भिगोले रायो भालेकानोलाई २–० गोलले हरायो । सेल्टा भिगोको जितमा दुवै गोल ब्रेस मेनडेजले गरे । १२औँ मिनेटमा खाता खोलेका ब्रेसले दोस्रो गोल ८०औँ मिनेटमा डेनिस स्वारेजको पासमा थपेका थिए । जितसँगै १०औँ स्थानमा उक्लिएको सेल्टा भिगोले २३ खेलबाट ३० अंक बनाएको छ । पराजित रायो भालेकानो ३१ अंक सहित नवौं स्थानमा छ ।
अन्य खेलमा इल्चेले घरेलु मैदानमा अलाभेसलाई ३–१ र मालोर्काले काडिजलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै २६ अंक बनाएको इल्चे १४औं र २३ अंक बनाएको मालोर्का १७औं स्थानमा छ । पराजित अलाभेस र काडिज रेलिगेसनको दबाबमा छ । १८ अंक बनाएको काडिज १८औं र १७ अंक बनाएको अलाभेस १९औं स्थानमा छ ।