कार्डिफ सिटीलाई हराउँदै लिभरपुल एफ ए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा कार्डिफमाथि ३-१ गोल अन्तरमा जित निकाल्दै लिभरपुलले पाँचौं चरणमा स्थान बनाएको हो।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउन डिएगो जोटा, ताकुमी र हार्मेले गोल गरे। कार्डिफका रूबिनले सान्तवना गोल गरेका थिए।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
तर ५३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए। खेलको ६८ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो। उसका लागि ताकुमीले गोल गर्न सफल भए।
खेलको ७६ औं मिनेटमा हार्मेको गोलमा लिभरपुलले अग्रता तेब्बर पार्यो। तर ८० औं मिनेटमा कार्डिफका रूबिनले गोल फर्काउँदै खेललाई ३-१ मा ल्याउँदै फर्कने संकेत देखाए।
तर त्यसपछि दुबै टिमले थप गोल गर्न नसकेपछि लिभरपुलले खेल ३-१ ले जित्दै पाँचौं चरणमा प्रवेश गर्यो।