मार्को एसेन्सियोले गरेको निर्णायक गोलमा रियल म्याड्रिडले ग्रानाडालाई हराउँदै ला लिगाको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।
घरेलु मैदानमा रियलको गोलविहिन डेडलक तोड्न अन्तिम १७ मिनेट बाँकी छँदा मिडफिल्डर एसोन्सियोले मिलिटाओको पासलाई सदुपयोग गरेका थिए।
ग्रानडा विरूद्व उच्च गोलकर्ता करिम बेन्जामा, दोस्रो सर्वाधिक गोलकर्ता भिनिसियस जुनियरसहित चार खेलाडी बिना रियलले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो।
खेलमा रियलले खेलअवधिभर केहि राम्रा अवसर पाए पनि गोल गर्न चुक्दा उसले अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो।
तर यो जितसँगै रियलले शीर्ष स्थानमा २३ खेलबाट ५३ अंकसहित ६ अंकको अग्रता बनाएको छ।
दोस्रो स्थानको सेभिल्लाले ओसासुनासँग गोलरहित बराबरी खेल्दै समान खेलबाट ४७ अंक जोडेको छ। यस्तै लिगमा तेस्रो स्थानमा रहेको रियल बेटिसले घरेलु मैदानमा भिल्लारियललाई २-० ले हराउँदै ४० अंक जोडेको छ। ३८ अंक जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ।