नेपाली महिला राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी 'साम्बा' सात महिनापछि स्वदेश फर्किएकी छिन्।
कतारमा दायाँ घुँडाको शल्यक्रिया गरिएको सात महिनापछि उनी मंगलबार स्वदेश फर्किएका हुन्।
उनको गत असार अन्तिममा कतारको दोहास्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गरिएको थियो।
उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतार पुगेकी थिइन्।
नेपाल एपिएफ क्लबकी फरवार्ड भण्डारी गत वर्षको महिला राष्ट्रिय लिगका दौरान घाइते भएकी थिइन्। नेपाल पुलिसविरुद्धको खेलमा उनी घाइते हुन पुगेकी थिइन्।
खेलको ६९औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन्।
एमआरआई रिपोर्टमा उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको देखिएको थियो। जसका कारण उनको शल्यक्रिया गर्नुपर्ने भनिएको थियो।
लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन्। महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो।
यसअघि एन्फाको पहलमा राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगर र मिडफिल्डर विक्रम लामाको पनि कतारमा उपचार भएको थियो।