इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड रेलिगेशन जोनमा रहेको बर्नलीसँग १–१ को बराबरीमा रोकिएको छ।
वर्नलीको घरेलु मैदानमा सुरूवाती अग्रता जोगाउन नसक्दा मुनाइटेडले शीर्ष चारमा उक्लिने मौका गुमाएको छ।
खेलको १८ औं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको गोलबाट सुरूआती अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० ले अगाडि रहेको युनाइटेडले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन।
घरेलु टोलीका जय रोड्रिगुयजले ४७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलको दोस्रो हाफको ६८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरे पनि टोलीलाई जिताउन सकेनन्। खेलमा थप गोल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन्।
बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा झरेको छ। वर्नली भने २० खेलबाट १४ अंकसहित पुछारमा छ।
राति नै भएको खेलमा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लिएको छ। यस्तै एभर्टनलाई ३-१ ले हराएको न्युक्यासल युनाइटेड रेलिगेशन जोनबाट बाहिर निस्किएको छ।
लिगमा २३ खेलबाट ५७ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ। ४८ अंक जोडेको लिभरपुल दोस्रो र ४७ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छन्।