रविशंकर पासवानले दुई गोल गरेपछि नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।
बुधबार दशरथ रंगशालामा भएको नवौं चरणको अन्तिम खेलमा पुलिसले च्यासल युथ क्लबलाई २-१ गोलले हरायो।
यसअघि च्यासलका खेलाडीलाई कोरोना संक्रमण भएपछि यो खेल स्थगित गरिएको थियो।
पुलिसलाई जारी लिगमा दोस्रो जित दिलाउने क्रममा रविले खेलको ३७ मिनेटमा पहिलो गोल गरेका थिए।
पहिलो हाफमा १-० ले पछि परेको च्यासलले खेलको ५३ मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि मौउसा एवांगाले पेनाल्टीमा गोल गरेका हुन्। रुमेश बर्तौलामाथि फल भएपछि च्यासलले पेनाल्टी पाएको थियो।
६९ मिनेटमा रविले टिम तथा व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई दोस्रो पटक अग्रता दिलाए।
जितसँगै पुलिस ९ खेलबाट १० अंक जोड्दै दशौं स्थानमा छ। रेलिगेसनमा जोनमा रहेको च्यासल ९ खेलबाट ५ अंक जोड्दै १३औं स्थानमा छ।
लिगको नवौं चरणसम्ममा मछिन्द्र २३ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक र त्रिभुवन आर्मी क्लब १७ अंक जोडेर तेस्रो स्थानमा छ।
लिगको दशौं चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछन्। पहिलो दिन फ्रेन्ड्स र ब्रिगेड ब्वाइज तथा आर्मी र जावलाखेल युथ क्लबबीच खेल हुनेछन्।