म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता १२ अंकमा पुर्याएको छ।
सिटीले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि २–० को जित निकालेको हो।
इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन रियाद महारेज र केभिन डि ब्रुयनले गोल गरे।
खेलको ४०औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए। पेनाल्टी बक्समा रहिम स्टर्लिङलाई रासमुससेनले फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा महारेज चुकेनन् ।
पहिलो हाफमा १-० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्यो।
खेलको ६९औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा दुबै पक्षबाट गोल नभएपछि सिटीले सहज जित निकाल्यो।
यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २४ खेलबाट ६० अंक पुगेको छ। सिटीले दुई खेल कम खेलेको लिभरपुललाई १२ अंकले पछि पारेको छ। पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १४औं स्थानमा रहेको छ।