रोमेलु लुकाकुको निर्णायक गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
साउदी अरेबियाको क्लब हिलाललाई १–० ले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो।
मोहम्मद विन जायद स्टेडियम आवुधावीमा बुधबार राति भएको खेलमा लुकाकुले खेलको ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुग्यो। अल बुराएकको क्रस डिफ्लेक्ट हुँदै फर्किएपछि काई हाभर्टजले दिएको पासमा लुकाकु गोल गरेका हुन्।
अन्त्यन्तै प्रतिश्पर्धात्मक खेलमा दुबै तर्फबाट भएका गोलका प्रयास विफल हुँदा खेल चेल्सीले १-० ले जित्यो।
अब चेल्सीले उपाधिका लागि ब्राजिली क्लब पाल्मेइरसको सामना गर्नेछ। पाल्मेइरसले यसअघि इजिप्टको अल एहेलीलाई २–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल १२ फेब्रुअरीमा हुनेछ।