नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणको खेल दशरथ रंगशालामा खेल्ने भएको छ।
श्रीलंकाको ब्लु स्टारसँग हुने खेल आगामी अप्रिल ५ मा दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ।
यो खेलमा जित हात पार्ने टिमले दोस्रो चरणमा भारतको एटिके मोहन बगान एफसीसँग प्रतिस्पर्धा गर्नेछ। मोहन बगानसँगको खेल अप्रिल १२ मा भारतको कोलकतामा हुनेछ।
यो खेलको विजेता र अर्को पोलको विजेताबीच प्लेअफ हुनेछ।
प्लेअफमा जित हात पार्ने टिमले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ।
समूह ‘डी’ भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ।
मछिन्द्र पहिलो पटक एएफसी कपका लागि छनोट भएको हो।
जारी सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्ममा शीर्ष स्थानमा रहने टिमलाई एएफसी कपमा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमअनुसार मछिन्द्र एएफसी कपमा छनोट भएको हो।
जारी लिगको नवौं चरणसम्ममा पनि मछिन्द्र क्लब शीर्ष स्थानमा छ।
मछिन्द्रले पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको हो।
२०७६ मा लिग च्याम्पियन भए पनि मछिन्द्र २०२१ को एएफसी कप खेल्नबाट बञ्चित भएको थियो। एएफसीले क्लब लाइसेन्स नभएका क्लबलाई प्रतियोगिता खेल्न रोक लगाएको थियो। गत वर्ष लाइसेन्स पाएको त्रिभुवन आर्मी क्लबले एएफसी कपमा सहभागिता जनाएको थियो।
यो वर्ष भने आर्मी, मनाङ, मछिन्द्र र एपिएफ गरी चार क्लबले क्लब लाइसेन्स पाएका थिए।
पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको मछिन्द्र सन् २००४ मा पहिलो पटक ए डिभिजनमा बढुवा भएको थियो।